कैलालीमा काँग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीमा काँग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए राजीनामा


९ बैशाख २०७९, शुक्रबार


धनगढी । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।

‘विगत लामो समयदेखि बलियो सङ्गठनका कारण नेपाली काँग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशील सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सामूहिक राजीनामा दिनेहरूमा नेपाली काँग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष साली भान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१८ मा अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबन्डाका क्रममा माओवादीले नै पाउने भएपछि काँग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस