तीन वर्षपछि आज राखेप बोर्ड बैठक आज बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन वर्षपछि आज राखेप बोर्ड बैठक आज बस्दै


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ ।

नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो ।

२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो बोर्ड बैठक हुनेछ ।

नयाँ ऐन लागू भएको झन्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही वैशाख सुरुमा राखेपबाट युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिएको थियो ।

त्यसै अनुसार आज सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा बोर्ड बैठक बस्न लागेको हो । तर राखेपले उच्च अदालतबाट पुनर्स्थापित राखेपका सदस्यलाई भने सहभागी नगराई बोर्ड बैठक गर्ने भएको छ ।

२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता बैठक बस्न नसक्दा राखेप नेतृत्वको आलोचना भइरहेको थियो ।

तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

राखेपको बोर्ड बैठक २०७५ चैत १५ गतेयता बस्न सकेको छैन । त्यति बेला आठौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक निर्णय गर्न बैठक बोलाइएको थियो ।

सदस्यसचिवका रुपमा केशवकुमार विष्टले चार वर्षे कार्यकाल सकाएपछि नियुक्त भएका रमेशकुमार सिलवालको झन्डै साढे दुई वर्ष लामो कार्यकालमा एकपल्ट पनि बैठक बस्न सकेन ।

उनले गत असार ३० गते बैठक आह्वान गरेका थिए । तर बदलिँदो राजनीतिक परिस्थितिका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

नयाँ ऐनका प्रावधानप्रति असन्तुष्ट देखिएका सिलवालले ऐन कार्यान्वयनमा बेवास्ता गरेको मन्त्रालयको बुझाइ थियो । नयाँ खेलकुद ऐनमा वर्षमा कम्तीमा दुईपल्ट राखेपको बोर्ड बैठक बोलाउनुपर्ने अनिवार्य प्रावधान छ ।

नयाँ ऐन अनुसार राखेपको सदस्य सचिवको नेतृत्वमा राखेपको सदस्यहरु सम्मिलित ७ सदस्यीय कार्यकारिणी समितिको परिकल्पना गरेको छ ।

बोर्ड बैठक बस्न नसकेको अवस्थामा सोही कार्यकारिणी समितिमार्फत धेरै महत्त्वपूर्ण निर्णयहरु गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस