स्थानीय तह निर्वाचनः डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचनः डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन


८ बैशाख २०७९, बिहिबार


डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयनका लागि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन ।

उमेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो । सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन् ।

जिल्लास्तरमा गठबन्धनका नेताबीचमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा केन्द्रलाई नै दिएको नेपाली काँग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बताए ।

उनले भने, ‘सहमतिका लागि पटक–पटक बैठक राखिए पनि सहमति जुट्न सकेन । हामीले सहमति गर्न नसक्दा केन्द्रलाई जिम्मा दिएका छौँ, केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था छैन ।’

सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको उनको भनाइ छ । उता एकीकृत समाजवादीका डोटी जिल्ला उपाध्यक्ष शिवराज खड्काले काँग्रेस र माओवादीका बीचमा कुरा नमिलेका कारण गठबन्धनका नेताहरूबीच सहमति जुट्न नसकेको बताए ।

उनले भने, ‘हाम्रो तर्फबाट सहमतिका लागि कुनै समस्या छैन, काँग्रेस र माओवादीका केही साथीका कारण समस्या देखिएको हो, अब केन्द्रले समाधान गरेर गठबन्धन हुन्छ ।’

सत्ता गठबन्धनको बैठकमा काँग्रेसले जिल्लाका नौवटा पालिकामध्ये दिपायल सिलगढी तथा शिखर नगरपालिकासहित सात पालिका र ४५ वडा तथा नेकपा (माओवादी केन्द्र)ले पनि दिपायल सिलगढी एक नगरपालिकासहित चार पालिका र ३४ वडा दाबी गरेपछि विवाद सिर्जना भएको बताइएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीका अनुसार आफूले जिल्लाका दुई पालिका र १६ वडा मागेको जानकारी दिए । यस्तै राष्ट्रिय जनमोर्चाले तीन वडामा आफ्नो दाबी पेश गरेको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौवटा स्थानीय तहमध्ये काँग्रेसले तीन र माओवादी केन्द्रले एउटा स्थानीय तहमा विजयी भएको थियो ।

नेकपा (एमाले)ले भने पाँच स्थानीय तहमा विजयी गरेको थियो । यस आधारमा सत्ता गठबन्धनका मुख्य दल काँग्रेससँग तीन, माओवादीसँग एक र एकीकृत समाजवादीसँग एक स्थानीय तहको नेतृत्व कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस