धरान उपमहानगरपालिकामा वडाध्यक्षको पनि भागबन्डा, वडामा एउटै चुनाव चिह्नबाट लड्ने सहमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरान उपमहानगरपालिकामा वडाध्यक्षको पनि भागबन्डा, वडामा एउटै चुनाव चिह्नबाट लड्ने सहमति


८ बैशाख २०७९, बिहिबार


विराटनगर । सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिकामा वडा तहसम्म भागबन्डा मिलाएका छन् ।

शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरे लगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् ।

माओवादी केन्द्रका नेता आइन्द्रबिक्रम बेघाका अनुसार धरानमा काँग्रेसले मेयरसहित १, २, ५, ६,७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडाको वडाध्यक्ष पाएको छ ।

यस्तै माओवादी केन्द्रले उपमेयरसहित चार वटा वडा ३, १५, १७ र २० को वडाध्यक्ष पाएको छ भने जसपाको भागमा १० र १९ वडा अध्यक्ष र एकीकृत समाजवादीको भागमा वडा नम्बर ४ को वडाध्यक्ष परेको छ ।

मेयर उपमेयरले भने आ-आफ्नो पार्टीको चुनावबाट लड्नेछन् भने वडामा सबै दलका उम्मेदवारले एउटै चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् ।

‘वडामा जुन पार्टीले वडा अध्यक्षको टिकट पाएको छ, सोही पार्टीको चुनाव चिह्नबाट सदस्यहरू उम्मेदवार बन्ने सहमति भएको छ’ उनले भने, ‘केन्द्रको फरक निर्देशन आएन भने सहमति अनुसार अघि बढ्छौँ ।’

वडामा सबै दलको प्रतिनिधित्व हुने उनले बताए । ‘केही वडामा बाँकी छ, अधिकांश वडा सदस्यमा सहमति गरेका छौँ’ उनले भने, ‘वडामा गठबन्धनमा रहेका दलहरूको प्रतिनिधित्व हुन्छ ।’

धरानमा वडा अध्यक्षको टिकट लिनेले सदस्य अरु पार्टीलाई छोड्नु पर्नेछ ।


Tags :
प्रतिक्रिया दिनुहोस