‘कोभिड विरुद्धको खोपले महिनावारीमा पार्ने असर दीर्घकालीन हुँदैन’ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

‘कोभिड विरुद्धको खोपले महिनावारीमा पार्ने असर दीर्घकालीन हुँदैन’


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । कोभिडविरुद्धको खोप लगाएपछि कतिपय महिलाहरूमा महिनावारी अनियमित भएको पाइएको छ । कुनै पनि खोपले रोग प्रतिरोधी क्षमता र हार्मोनमा असर पार्ने भएकोले खोपपछि महिनावारीमा केही फेरबदल हुनु सामान्य रहेको चिकित्सक बताउँछन् । कोभिड र खोपका कारण महिलाहरूमा चिन्ता र तनाव बढेको र जसको प्रभाव महिनावारीमा परेको हुन सक्ने चिकित्सकको भनाइ छ । तर, महिनावारी अनियमित हुने समस्याले भविष्यमा क्यान्सर हुने हो कि भन्ने चिन्ता महिलाहरू छ । महिनावारी गडबड हुने कारण र यसबाट निम्तन सक्ने समस्याका बारेमा स्त्रीरोग विशेषज्ञ डा. सपना अमात्य वैद्यसँग गरिएको कुराकानी ।

कोभिड विरुद्धको खोपले महिनावारीमा गडबड हुन्छ ?
कोभिड विरुद्धको खोप लगाएपछि महिनावारीमा गडबडी भएको गुनासो महिलाहरूबाट आउने गरेको छ । तर यो समस्या क्षणिक हो । कोभिड विरुद्धको खोपले एन्टिबडी विकास गर्ने हुँदा इम्युन रेस्पोन्सको कारण महिनावारीमा गडबड भएको हो ।
नेपालमा यसबारे अनुसन्धान नभए पनि अन्तराष्ट्रियस्तरमा भएका अध्ययनले केही समय महिनावारी अनियमित हुने गरेको देखाएका छन् । अनियमित भएको महिनावारी ३/४ महिनामा यो ठिक भएको पाइएको छ ।

कोभिड विरुद्धको खोप लगाउनु भन्दा तीन महिना अघि र खोप लगाइ सकेपछिको तीन महिनाको अवधीलाई हेर्दा केही गडबड भएको पाइएको छ तर यो पछि नियमित भएको पाइएको छ ।

यो समस्याले दीर्घकालीन असर पार्छ कि पार्दैन ?
महिनावारी नियमित हुँदा महिलाहरू मानसिक र शारीरिक रूपमा तन्दुरुस्त हुन्छन् । यसको अर्थ उनीहरू तनाव मुक्त हुन्छन् । तर, अचानक महिनावारीमा गडबडी भयो भने मानसिकरुपमा तनावमा हुन्छन् । र शारीरिक रूपमा पनि समस्या आउन सक्छ ।

यसैगरी सन्तानको योजना बनाइरहेकाहरू पनि तनावमा पर्न सक्छन् । अर्कोतर्फ परिवार नियोजन गरेकाहरूमा परिवार नियोजनले समस्या निम्ताएको हो कि भन्ने शङ्का हुन्छ । परिवार नियोजनको तयारीमा रहेका महिलामा पनि महिनावारी गडबडीले समस्या निम्ताएको हुन्छ ।

महिनावारी गडबडीले मानसिक तनाव दिन्छ । यो क्षणिक हो । यसको असर दीर्घकालीन हुँदैन ।

महिनावारी गडबड हुँदा भविष्यमा क्यान्सर हुन्छ ?
यो धेरैले सोध्ने प्रश्न हो । महिनावारी धेरै कारण हुन सक्छ । महिनावारी सुरु हुँदाको समय र महिनावारी सुक्ने समयमा अनियमित हुने गर्छ । हर्मोनको कारण पनि महिनावारी गडबड हुन्छ ।

कहिलेकाहीँ क्यान्सरको कारणले पनि महिनावारी गडबड भएको पाइएको छ । युवा अवस्थामा महिनावारी गडबडी हुँदैमा क्यान्सर हुन्छ भन्ने छैन । तर, महिनावारी सुक्ने बेलामा महिनावारी अनियमित हुँदै गर्दा धेरै पटक अनियमित भयो भने हर्मोनको कारणले हो कि क्यान्सरको कारण हो भन्ने बारेमा परीक्षण गर्नु पर्ने हुन सक्छ । महिनावारी सुक्ने बेलामा सतर्कता अपनाउनु पर्छ ।
थाइराइडको कारणले पनि महिनावारी गडबड हुन सक्छ ।

कति समय महिनावारी अनियमित भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ?
तनावका कारण महिनावारी गडबड हुनसक्छ । यात्रा गर्दा पनि महिनावारी गडबड हुनसक्छ । कारणवश महिनावारी रोक्ने औषधि खादा पनि महिनावारी गडबड हुनसक्छ । आइपिल औषधि खादा पनि महिनावारी गडबड हुन्छ ।

सबै महिलाले महिनावारीको साइकल याद गर्नु पर्ने हुन्छ । यो क्यालेन्डर नै बनाउँदा हुन्छ । एक दुई पटक महिनावारी अनियमित भयो भन्दैमा चिन्ता लिनु पर्दैन । तनाव, यात्रा र औषधि सेवन गरेको अवस्थामा महिनावारी गडबड हुँदा चिन्ता लिनु पर्दैन । तर, सबै ठिक हुँदाहुँदै पनि दुई तीन साइकलपछि महिनावारी गडबड भयो भने चिकित्सकसँग परामर्श लिनु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस