गठबन्धनको शक्ति देखेर ओली काँपेका छन् : पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गठबन्धनको शक्ति देखेर ओली काँपेका छन् : पौडेल


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्मृति दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा उनले ओली हतास भएर जस्ता शक्तिसँग पनि तालमेल गरिरहेको बताए ।

उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्त्वसँग पनि हातेमालो गरिरहेका छन् ।’
हालै एमालेले कमल थापा नेतृत्वको राप्रपा र एकनाथ ढकाल नेतृत्वको

नेपाल परिवार दलसँग चुनावी गठबन्धनको सहमति गरेका छन् । त्यसतर्फ सङ्केत गर्दै नेता पौडेलले ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको टिप्पणी गरे ।

उनले भने, ‘यही हप्ता गरेका घटनाको याद गर्नुहोस् कस्ता कस्ता तत्त्वको सहारा लिएर बस्न चाहिरहेका छन् ?’

सत्तारुढ गठबन्धन भने कुनै पद प्राप्तिका लागि नभई लोकतन्त्र र परिवर्तनबाट प्राप्त उपलब्धि बचाउनका लागि हो भन्दै पौडेलले गठबन्धनविरुद्ध भइरहेको गतिविधि निस्तेज पार्नुपर्ने बताए ।

उनले गठबन्धनमा रहेका दलहरूले आआफ्नो दायित्व बुझेर कदम चाल्नुपर्ने पनि धारणा राखे । नेता पौडेलले नेविसंघका नेता कार्यकर्तालाई तत्कालै पद पाइहाल्छु भन्ने नसोची काम गर्न आग्रह गरे ।

उनले भने, ‘चाँडै नै लाभ प्राप्ति गर्नेतिर नसोचेर समर्पण, उत्सर्ग र बलिदानको भावना लिएर अघि बढ्नुहोला, दुई दिनमा हतास नहुनुहोला ।’

Tags :
प्रतिक्रिया दिनुहोस