मजदुर बालबालिकालाई अनौपचारिक कक्षा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मजदुर बालबालिकालाई अनौपचारिक कक्षा


६ बैशाख २०७९, मंगलबार


चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु गरिएको छ ।

नगरमा रहेका इँटा उद्योगमा कार्यरत बाल मजदुरलाई लक्ष्य गरी तीन महिने कक्षा सञ्चालन गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

सोमबार अनौपचारिक कक्षाको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले बालबालिकाको अधिकारलाई कसैले रोक्न नपाउने बताए । उनले जुनसुकै देशका बालबालिकाले पढ्न पाउने अधिकार रहेकाले नगरले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी कक्षा सञ्चालन गरेको बताए ।

उनका अनुसार इँटा उद्योगका मजदुरका बालबालिका श्रममा लागेर शिक्षणतर्फ ध्यान नदिएकाले यसमा सजग हुनुपर्छ । ‘मजदुर भर्ना गर्दा नै बालबालिकाका बारेमा बुझेर राख्नुहोला’, प्रमुख अधिकारीले भने, ‘बालबालिकालाई काममा लगाएको पाइएमा नगरले उद्योग नवीकरण गर्दैन, त्यसैले सजग रहनुहोला ।’

बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउनका लागि अनौपचारिक शिक्षा सुरु गरिएको शिवराज नगरपालिका शिक्षा शाखाका अधिकृत पूर्ण विश्वकर्माले बताए । सिजनअनुसार कामदार आउने भएकाले सुरुको चरणमा तीन महिनाका लागि कक्षा सुरु गरिएको उनले बताए ।

पहिलो चरणमा तीन वटा मात्र इँटा उद्योगमा कार्यरत बालबालिकालाई कक्षा सञ्चालन गरिएको दलित मानवअधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताइन् । जनता इँटा उद्योग, स्टार इँटा उद्योग र कपिलवस्तु इँटा उद्योगमा कार्यरत ४० जनालाई लक्ष्य गरेर कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।

कक्षा सञ्चालनमा सहजकर्ताका रूपमा शिवराज नगरपालिकाले कुस्लवती छिपिलाई छनोट गरेको छ । छिपिले दैनिक बिहान ११ देखि १ बजेसम्म अध्यापन गराउनेछिन् ।

उद्घाटन कार्यक्रममा बालबालिकालाई आवश्यक शैक्षिक सामग्री दलित मानवअधिकार निगरानी समितिले व्यवस्थापन गरेको छ । कपि, कलम, झोलालगायतका सामग्री उपलब्ध गराएको अध्यक्ष परियारले बताइन् ।

दलित मानवअधिकार निगरानी समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शिवराज नगरमा रहेका १२ इँटा उद्योगमा ६९ बालबालिका कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस