चलचित्र विकास बोर्डले आजदेखि काठमाडौँका सिनेमा हलको अनुगमन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चलचित्र विकास बोर्डले आजदेखि काठमाडौँका सिनेमा हलको अनुगमन गर्ने


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नियम मिचेर कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ चलाएको गुनासोपछि चलचित्र विकास बोर्डले आज (मंगलबार)देखि काठमाडौँका सिनेमा हल अनुगमन गर्ने भएको छ ।

बक्स अफिस संयोजक राज कटुवाल संयोजकत्वको टोलीले काठमाडौँसहित मुलुकभरका हल अनुगमन गर्ने भएको हो ।

राजस्व छलेको, गैर कानुनी रुपमा शो बढाएर फिल्म चलाएको र बक्स अफिस जडान नगरेको भए हल बन्द गर्नेसम्मको अधिकार प्रयोग गर्छौँ,’ कटुवालले भने ।

कटुवाल नेतृत्वको अनुगमन समितिमा बोर्डका अधिकृत, गृह मन्त्रालय र राजस्व विभागका प्रतिनिधि पनि सहभागी हुने भएका छन् ।

‘हाम्रो मुख्य उद्देश्य सरकारले स्थापना गरेको प्रणालीलाई राम्रोसँग चलाउनु हो,’ कटुवालले भने ।

‘हलले डेटा राम्रो पठाएको छ कि छैन भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित हुनेछ । हलले पठाएको डेटा र हलको वास्तविक डेटाबीचको भिन्नता बुझ्ने प्रयास गर्नेछौँ,’ उनले भने ।

बोर्डको सहमतिबिना रात्रि शो चलाएको गुनासोपछि कारबाहीका लागि बिग मुभिज, बीएसआर मुभिज र एफक्यूब सिनेमाजलाई राजस्वमा उजुरी गरिएको जानकारी समेत उनले दिए । वान सिनेमाजको बानेश्वर र कालिमाटी हलबाट डेटा नआएको समेत उनले जनाए ।

काठमाडौँका कतिपय हलले राति ३ बजेदेखि नै ‘केजीएफ-२’को रात्रिकालीन शोहरू सञ्चालनमा ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस