एकानब्बे आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकानब्बे आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्रै ३२ समूहका २६२ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, माउन्ट ल्होत्से (८,५१६ मिटर) आरोहणका लागि १० समूहका ९४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि छ समूहका ६५ आरोहीले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि छ समूहका ६७ आरोहीले अनुमति लिएका छन् । नुप्त्से (७,८५५ मिटर) मा पाँच समूहका ३८ आरोही छन् ।

त्यसै गरी अन्नपूर्ण (८,०९१ मिटर) आरोहणका लागि चार समूहका २६, धौलागिरि (८,१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिमाल आरोहणबाट हालसम्म ३९ करोड ५२ लाख ३१ हजार ५२ रोयल्टी उठेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस