बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही


५ बैशाख २०७९, सोमबार


कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।

सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्य तारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सर कारबिच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उनले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए ।

उनले खानी र उद्योगसम्म सडक तथा पानी पुर्‍याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने प्रतिबद्धता जनाए । साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सरकार तयार हुने बताए । प्रदेश सरकारले नीतिगतरुपमै आवश्यक सहुलियतको व्यवस्था गरे पनि प्रदेशमा ठुला लगानीकर्ता आउन नसकेको उनको भनाइ छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्य ताराले आवश्यक सहजीकरण र भावी योजनाकाबारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो ।

झन्डै १५ अर्ब बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद गरिसकेको छ ।

सूर्य तारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँच मार्गलगायत संरचना निर्माणको काम प्रक्रियामै रहेको जानकारी दिए । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ ।

उद्योगले बराहताल–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरेको छ ।

उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन किङ्कर उत्पादन गर्नेछ । प्रदेश सरकारसँगको छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठ सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस