सरकारी कार्यालयमा कार्यरत एक सिपालु कर्मचारी चाप्लुसीमा यति लिप्त थिए कि उनले हुँदैन र सक्दिन भन्ने कुनै काम थिएन।गर्न नसकिने वा नमिल्ने कामको पनि जिम्मा लिन माहिर उनी त्यो काम लगाउनेलाई नै गलाएर उक्त कामबाट मुक्ति पाउँथे।
एक पटक कार्यालयको शून्य समयमा हाकिमले आफ्नो पत्नी बिरामी भएको र बघिनीको दूध खुवाउन सके सन्चो हुने कुरा बताए । सिपालु कर्मचारीले आफूले ७ दिनमा बघिनीको दूधको व्यवस्था गर्ने कुरा बतायो ।
सबै छक्क परे ।
७ दिनपछि भएको शून्य समयमा उसले निकै बघिनी भेटेको तर बगेर्नो वा लैनो कुनको दूध चाहिएको ? यकिन नभएकोले जिम्मेवारी पूरा गर्न नसकेको बतायो ।
हाकिमले बगेर्नोको चाहिने बतायो।
फेरि ७ दिन पश्चात उसले कुन रङ्गको भन्ने सोध्न भुलेकोले आज पनि ल्याउन सकिएन भनेर हाकिमसँग बघिनीको रङ्ग किटान गर्न भन्यो।
हाकिमले टाटेपाटे रङ्गको भए उत्तम भन्यो।
सिपालुले अर्को हप्ता ल्याउने कुरा गर्यो।
त्यो हप्ता उसले भन्यो ‘दूध दुदै थिए, बघिनी उफ्रिएर सबै दूध पोखियो’ ।
र, पुनः प्रयास गर्ने बाचा गर्यो ।
यसैगरी उसले झन्डै ६ महिना हाकिमलाई अल्झाई राख्यो ।
एकदिन हाकिम निकै रिसाएर तिमिले उल्लु कुरा गरेका रहेछौ भन्दा उसले भन्यो -‘हजुरलाई चाहिएको टाटेपाटे रङ्गको बगेर्नो बघिनीको दूध हो । जङ्गलमा यौटा मात्र यस्तो बघिनी भएको र अहिले उनी गर्भवती भएकोले केही समय कुर्नुस् म पक्का दूध ल्याउँछु’ भन्यो ।
अन्त्यमा, हाकिमले सबैको अगाडी भन्यो -‘गर्न नसकिने कुरालाई जी हजुरीमा माहिर सिपालुको कलाले मलाई गलायो।’
अहिले नेपालको निजामती सेवामा यस्तै पात्रको बोलवाला छ । सुविधा, लाभ र सम्मान त्यस्तैले पाएका छन्।
एक जना सचिव पदक पाएपछि भन्दै थिए ‘पहिला काम गर्दा चाकडी गरिएन, अनि पदक पाइएन अहिले पदक दर्जाले पायो, काम के गरेँ बुझिन’
निजामती सेवा यस्तै राखेर सधैँ ‘बघिनीको दूध’ खोज्न पठाउने हो कि यो काम हुन सक्दैन भन्न सिकाउने हो ?