आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ ।

अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने बताए । मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइने उनी बताउँछन् ।

प्रवक्ता पौडेलले भने, ‘घरदैलो अभियान प्रभावकारी भएन, सिकाउनेहरु निष्पक्ष भएनन्, जिम्मेवारपूर्ण काम गरेनन् भन्ने गुनासो आएकाले यस वर्ष वैशाख २९ र ३० गते मतदान केन्द्रमै सूचना केन्द्र स्थापना गरी भोट हाल्ने तरिका सिकाइने छ ।’

आयोगका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउने गरी संक्षिप्त कार्यक्रम गर्ने उनले बताए ।

घरदैलो अभियान सञ्चालन नगरे पनि सूचना प्रविधिलाई उपयोग गरेर भोट मतदाता शिक्षा दिइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । यस वर्ष आयोगले मतदाता शिक्षाका लागि सञ्चार माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने नीति लिएको छ ।

‘अहिले धेरैभन्दा धेरै अडियो, भिडिओ सामग्रीहरु उत्पादन गरेर स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन पोर्टल र सामाजिक सञ्जालमार्फत प्रकाशन प्रसारण गर्ने आयोगको नीति रहेको छ,’ सहायक प्रवक्ता अर्यालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस