एक अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री झाँक्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री झाँक्री


२ बैशाख २०७९, शुक्रबार


बनेपा । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एक अर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।

काभ्रेपलान्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।

यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरूको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ता खाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ ।

‘सबैसँग एकर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौँ’, उनले भनिन्, ‘एक्लै हिँड्छु भनेर हिँड्यौ भने हामी कहीँ पुग्दैनौँ, हामी सँगसँगै हिँड्यौँ भने लक्ष्य हासिल गर्न सकिन्छ ।’

मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँ अनुसारले काम गर्न आग्रह गरिन् ।

संविधानसभा सदस्य विदुर सापकोटाले प्रतिगमनकारी शक्तिका अवशेषलाई समाप्त गर्दै वर्तमान व्यवस्थालाई जोगाउन, प्राप्त उपलब्धिको संरक्षण गर्न र मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउनको लागि अहिलेको गठबन्धन भएको बताए ।

बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहँदा विगत पाँच वर्षमा जनप्रतिनिधिले केके गरे र अब के गर्दै छ भन्ने कुरालाई राम्रोसँग मनन गरेर अगाडि बढ्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस