निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ


१ बैशाख २०७९, बिहिबार


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस वर्षभित्र सङ्घीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन नेपालको सङ्घीय संरचनालाई स्थापित गराउन महत्त्वपूर्ण सावित हुने उल्लेख गरेका छन् ।

सबै निर्वाचनमा उत्साह, उमङ्ग तथा उल्लासमयरूपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन प्रदेश प्रमुख गुरुङले अनुरोध गरेका छन्।

विसं २०७८ राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको स्मरण गर्दै उनले कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनुजस्ता कुरा सकारात्मक उपलब्धिकारूपमा रहेको बताए ।

देश संविधान कार्यान्वयनकै चरणमा रहेको र यसको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम भए पनि अझै यसले पूर्णता नपाएका कारण जनअपेक्षाअनुसार जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए।

देशका प्राकृतिक सम्पदा एवं मेहनती मानवीय संसाधनको समुचित र दिगो प्रयोग गर्दै मुलुकलाई समृद्ध एवं समुन्नत बनाउने दायित्व रहेको उनको भनाइ छ ।

विधि र नीतिको सर्वोपरितालाई स्विकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने उल्लेख गर्दै सन्देशमा नयाँ वर्षले सबैमा नयाँ जोस, उमङ्ग र उत्साह पैदा गर्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस