नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ ।नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ ।

नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो ।

नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उनले सुनाए । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ ।

पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो ।

यस अवसरमा पश्चिम मूल ढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताए ।

नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस