काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता भएको छ ।
भर्चुअल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।
वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’
युक्रेन सङ्कट अन्त्यको आह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु । मैले उनीहरूलाई शान्तिको अपिल मात्र गरिन, बरु राष्ट्रपति पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताका लागि सुझावसमेत दिएको छु । ’
भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको प्रधानमन्त्री मोदीले बताए । भारतले युक्रेनमा अर्को औषधिको खेप पठाउने भएको छ ।