भरतपुर महानगरको मेयरका लागि काँग्रेसका आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगरको मेयरका लागि काँग्रेसका आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने


२७ चैत्र २०७८, आइतबार


चितवन । भरतपुर महानगरको मेयर काँग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौँमा रहेका बेला काँग्रेसबाट मेयरमा आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने भएका छन् ।

नेपाली काँग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकाङ्क्षीहरुलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ ।

काँग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज (आइतबार) र भोलि (सोमबार) मनोनयन दर्ता गर्ने समय तोकिएको काँग्रेस महानगर सचिव कृष्ण बगालेले जानकारी दिए । आइतबार बिहान ११ बजेबाट सुरु हुने मनोनयनको सबै तयारी पूरा भएको सचिव बगालेले बताए ।

उनका अनुसार महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरको लागि दुई हजार रुपैयाँ तोकिएको छ । मेयरमा काँग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शङ्कर कँडेल लगायतले आकाङ्क्षा देखाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसले माओवादीसँग गठबन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस