‘राम नवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै, सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘राम नवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै, सार्वजनिक बिदा


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा चैत्र शुक्ल नवमीका दिन मनाइने ‘राम नवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने राम नवमी पर्वका अवसरमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

त्रेता युगमा आजकै दिन राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतारका रूपमा भगवान् श्रीरामको जन्म भएको र त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी राम गीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ ।

‘व्रतार्क’ नामक धर्मग्रन्थका अनुसार आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने उल्लेख छ ।

पितृ मातृ भक्त, ठुलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गर्ने गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्य लोकमा जन्म लिएको बताइन्छ ।

राम नवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा राम नवमी पर्व मनाउन थालिएको बताइन्छ ।

राम नवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुवारिमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ ।

राम नवमीको अवसरमा आज(आइतबार० सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस