करिब ६० लाख सोमालियाली खाद्य सङ्कटमा परेको राष्ट्रसङ्घको भनाई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

करिब ६० लाख सोमालियाली खाद्य सङ्कटमा परेको राष्ट्रसङ्घको भनाई


२६ चैत्र २०७८, शनिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा खाद्य सङ्कट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ ।

खाद्य सङ्कटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसङ्घले सहयोगको अपिल पनि गरेको छ । त्यहाँ केही समय यता देखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य सङ्कट परेको जनाइएको छ ।

यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो ।

अहिले भने यही अप्रिलदेखि जुलाई महिनासम्ममा कम्तीमा पनि ६० लाख मानिस खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताको अभावमा पर्ने समस्या देखिएको बताएको छ ।

जसका कारण यहाँका ६० लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य सङ्कटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन् ।

यो वर्ष नै अप्रिलदेखि जुलाई सम्ममा नै ती नागरिकलाई खाद्य सङ्कट पर्ने जनाइएको थियो । यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्वन्द्वका कारण पनि मानिसहरुले खान पाएका छैनन् ।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का सोमालियाका संयोजकले यहाँका कम्तीमा पनि ६० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको यसअघि नै बताएका थिए ।

सोमालियाको सरकारले संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य सङ्कट पर्न गएको घोषणा गरेको थियो ।

सोही कारण संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस