मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै


२५ चैत्र २०७८, शुक्रबार


मनाङ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदै छ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदै छ ।

तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।

उनका अनुसार ८० प्रतिशतभन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ । विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिरबाट १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ ।

पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासो, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ ।

उनले १५ वर्षमुनिका बालबालिकामा टाइफाइडको सङ्क्रमण ११ गुणा बढी हुने भएकाले पन्ध्र महिनादेखि १५ वर्षमुनिका समूहलाई प्राथमिकतामा राखेर खोप दिन लागिएको बताए ।

प्रमुख आचार्यकाअनुसार अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जनशक्ति परिचालन गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम तथा अभिमुखीकरण गरी खटाइ सकिएको छ ।

यसका लागि जिल्लामा ७५४ खोपको मात्रा प्राप्त भएको छ । खोप लगाएपछि ज्वरो आउने, खोप लगाएको भाग रातो हुने, सुन्निने, दुख्ने, शरीरमा बिमिरा आउने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिने हुँदा आत्तिन नहुने जनाइएको छ ।

टाइफाइड म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिको दिसाका माध्यमबाट टाइफाइड रोगका जीवाणु बाहिरी वातावरणमा पुगेर स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीका माध्यमबाट सर्ने गर्दछ ।

कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएका, उच्च ज्वरो, सिकिस्त बिरामी, एड्सको लक्षण देखिएका व्यक्तिले टाइफाइडविरुद्धको खोप लगाउन नहुने उनले बताए ।

१५ वर्षमाथि उमेरका व्यक्तिले सरसफाइमा ध्यान दिन सके उक्त रोगबाट बच्न सकिन्छ । टाइफाइडविरुद्धको खोप देशैभरका ७५ लाख बालबालिकालाई लगाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस