बीबीसी मास्टरसेफ ‘रिम्याच’ विजेता सन्तोष साहसहितको टोली नेपाल आउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बीबीसी मास्टरसेफ ‘रिम्याच’ विजेता सन्तोष साहसहितको टोली नेपाल आउँदै


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आउँदै छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिनलाई नेपाल बोलाएको हो ।

यसअघि बीबीसी मास्टरसेफ २०२० मा उपविजेता बनेका साहसहित टोली बिहीबार दिउँसो काठमाडौं अवतरण गर्ने जनाइएको छ । दुई साता नेपाल रहँदा आफूहरूले नेपालका विभिन्न पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम रहेको साहले जानकारी दिए ।

सेफको टोली चैत २७ गते जनकपुरधाममा हुन लागेको ‘मिथिला कुजिन एन्ड रेसिपिज’ अन्तर्गत हुने पाककला प्रतियोगिताको निर्णायक बस्ने कार्यतालिका छ ।

उनीहरू शुक्रबार काठमाडौँबाट पोखरा जानेछन् भने १८ अप्रिलमा बेलायत फर्किने कार्यतालिका छ । उनले मास्टरसेफ द प्रोफेसनल्स रिम्याच २०२१ का अन्य प्रतिस्पर्धीलाई नेपालका विभिन्न क्षेत्रमा पाइने रैथाने खानाको स्वाद दिलाउन नेपाल ल्याउन लागिएको बताए ।

नेपालमा रहँदा उनीसहितको टोलीले बन्जी जम्प, प्याराग्लाइडिङ, स्थानीय थारु भान्सेसँग भेट्ने, र डल्ला होमस्टे जस्ता कार्यतालिका राखेका छन् । सेफहरूले डल्ला होमस्टेमा थारु कुकहरूसँग मिलेर थारु खाना पनि बनाउने कार्यक्रम छ ।

सेफ सन्तोष साहले हिमाल, पहाड र तराईका विभिन्न रैथाने खाना समेटेर ‘ऐला’ नामक किताब पनि प्रकाशित गरेका छन् । साहले गत पुसमा बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि हासिल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस