सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन : नेता श्रेष्ठ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन : नेता श्रेष्ठ


२३ चैत्र २०७८, बुधबार


गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा हिजो (मंगलबार) आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमान्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए ।

वरिष्ठ नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुनेसमेत बताए। ‘हाम्रो पार्टीको प्राथमिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन’, उनले भने, ‘गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ ।’

उनले पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने बताए । वरिष्ठ नेता श्रेष्ठले पार्टीले अवलम्बन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उल्लेख गरे ।

‘अहिलेको स्थानीय तहको निर्वाचन भने स्थानीय सदनको मोर्चामा जाने तयारी हो’, उनले भने, ‘यो मोर्चा नजिते हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौँ ।’ वरिष्ठ नेता श्रेष्ठले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तहहरुमा राम्रो काम भएको बताउँदै त्यसबारेमा जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस