कोभिड–१९ : चीनको सांघाईमा व्यापक निषेधाज्ञा जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिड–१९ : चीनको सांघाईमा व्यापक निषेधाज्ञा जारी


२३ चैत्र २०७८, बुधबार


साङ्घाइ । चीनले सांघाईमा जारी निषेधाज्ञालाई थप बिस्तार गरी सहरको दुई करोड पचास लाख जनसङ्ख्यामा लागु गरेको छ ।

सांघाईमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।

सांघाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।

सांघाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठुलो एकल सहर हो।

महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ ।

अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् ।

सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् ।

सांघाईले यति बेला क्वारन्टीन नीतिलाई लागु गर्दै चीनको शून्य–कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ ।

यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको समय चीनले शून्य–कोभिड रणनीतिलाई अगाडी सारेको हो ।

सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् २४ घण्टामा दुई करोड पचास लाख मानिसहरूको नमुना सङ्कलन गरी गरिएको परीक्षणमा उक्त अवधिमा १३ हजार व्यक्तिमा कोभिड सङ्क्रमण देखिएको हो ।

समस्या समाधानका लागि कम्तीमा ३८ हजार व्यक्ति अन्य क्षेत्रबाट सांघाई खटाइएको बीबीसीले जनाएको छ ।

सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठुलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस