‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।

मङ्गलवार (आज) काठमाडौँ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आगामी वैशाख ३० गतेदेखि वैशाख २ गतेसम्म हुने सो जात्राको प्रचारप्रसारको काममा सहयोग गरिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका मेयरहरूलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए । सम्बन्धित सबै पक्षले यस जात्राको प्रवर्द्धनमा सहयोग गरे विश्व सम्पदा सूचीमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाइ थियो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका भित्रका सबै जात्राहरूको ऐतिहासिक महत्त्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरूको प्रवर्द्धन गर्ने अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको प्रवर्द्धनले पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे । कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रदर्शनी गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस