जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम


२२ चैत्र २०७८, मंगलबार


खलङ्गा । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ। छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

सो कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख भगवती गिरीले जानकारी दिए । यहाँका आठ वटै स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ । हालसम्म यस कार्यक्रम अन्तर्गत जिल्लामा एक हजार ९७४ छोरीको बैङ्क खाता खोलिएको सामाजिक विकास कार्यालयले जनाएको छ ।

सुरुमा एक हजार रुपैयाँ छोरी सुरक्षा खातामा प्रदेश सरकारमार्फत स्थानीय तहले हरेक महिनामा ५०० रुपैयाँ जम्मा गरिदिन्छन् । अभिभावकको रोहवरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने गर्छ । नगद पनि जम्मा गरिदिने व्यवस्था मिलाएको छ । २०७६ साउनदेखि जन्मेका सबै छोरीको बैङ्क खाता कार्यक्रमको समन्वयमा खोलिदिएको छ । अहिले छोरी जन्मेपछि जति सक्यो चाँडै छोरीको नाममा खाता खोल्नेको सङ्ख्या बढेको तिला गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख गौरी थापाले जानकारी दिए ।

कार्यक्रमले छोरीको जीवन सुरक्षामा राहत पुग्ने विश्वास गरिएको छ । यो रकम २० वर्ष नपुगी निकाल्न मिल्दैन  । छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले छोरी सुरक्षा कार्यक्रम अघि सारेको प्रदेश सरकारको सामाजिक मन्त्रालयले जनाएको छ । यो कार्यक्रमले बालविवाह घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुख बताउँछन् । छोरी सुरक्षा कार्यक्रमले निकै राम्रो प्रभाव परेको छ । छोरीहरूको आत्मसम्मान बढेको गुठी चौर गाउँपालिका–५ का सङ्गीता धितालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस