बर्डफ्लू सङ्क्रमण बढ्यो , उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बर्डफ्लू सङ्क्रमण बढ्यो , उच्च सतर्कता अपनाउन आग्रह


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ ।

झन्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखिएको विभागले जनाएको छ ।

गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको सङ्क्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताए ।

प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा सङ्क्रमण देखिएको तिवारीको भनाइ छ ।

‘सङ्क्रमण फैलिने अवस्थामा देखिएको छ, सङ्क्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीव्रता दिएका छौँ,’ महानिर्देशक तिवारीले भने, ‘बर्डफ्लू नियन्त्रण बाहिर छैन, तर फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ ।

सङ्क्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस