अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन् ।

उनले आज उक्त दलको केन्द्रीय कार्यालय रवि भवन पुगेर पदभार ग्रहण गरेका हुन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ८ गते गुरुङलाई अध्यक्षमा मनोनीत गरेका थिए ।

अध्यक्ष जीतजङ्ग बस्नेत काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दल नेतृत्वविहीन बन्दै आएको थियो ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकले म्याद सकिएका नेविसङ्घ, तरुण दललगायत १० भ्रातृ संस्था विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष गुरुङ यसअघि तरुण दलको कोषाध्यक्ष थिए । पदभारपछि अध्यक्ष गुरुङले आउँदो निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई जिताउनका लागि देशभर तरुण दलका युवालाई परिचालन गर्ने बताए । तरुण दलका यसअघि रहेका सबै निकाय यथावत रहने उनको भनाइ थियो ।

पूर्व अध्यक्ष बस्नेतले विगतका दिनभन्दा पनि बलियो तरुण दल बनाएर अगाडि बढाउन आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

अर्का पूर्व अध्यक्ष उदय शमशेर राणाले तीनै तहको निर्वाचनको जिम्मेवारी तरुण दलको काँधमा आएकाले यसलाई थप गतिशील बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस