‘दुवै, कतार र सेसेल्समा नेपाली कामदारको उच्च प्रशंसा’– सहसचिव पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘दुवै, कतार र सेसेल्समा नेपाली कामदारको उच्च प्रशंसा’– सहसचिव पोखरेल


२१ चैत्र २०७८, सोमबार


काम गर्नको लागि देशबाहिर जाने प्रचलन ऐतिहासिक कालदेखि चलिआएको भए पनि केही दशक यता संसारभरि नै वैदेशिक रोजगारीमा जाने प्रचलन निकै बढेको सन्दर्भमा नेपालमा वैदेशिक रोजगारी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । अहिले नै ४५ लाखभन्दा बढी नेपालीहरू रोजगारीको सिलसिलामा विदेशमा रहेका र वार्षिक पाँच लाखभन्दा बढी व्यक्तिहरू श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनौट नभएकोले अल्पकालीन रणनीतिको रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन । तसर्थ पनि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दोका साथै प्रतिफलयुक्त बनाउँदै प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको माग र देशको आवश्यकता हो । यसै सन्दर्भमा वैदेशिक रोजगारका अवसर तथा चुनौतीलगायत नेपाली श्रमिकहरूले झेल्नु पर्ने समस्या, कामदारको सुरक्षा, पारिश्रमिक तथा नयाँ गन्तव्य पहिचानलगायत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलसँग प्रशासन डटकमले गरेको कुराकानी :

रोजगारीका गन्तव्य मुलुकहरूको भ्रमण गरेर भर्खरै मात्रै फर्किनु भएको छ, उपलब्धि के रहे ?
भ्रमण सफल रह्यो । वैदेशिक रोजगारीका क्षेत्रमा भएका सानादेखि ठुला समस्यासम्म बुझ्न पाइयो । तीन वटा मुलुकमा केन्द्रित भ्रमणका क्रममा सुरुमा हामी युएई पुग्यो । त्यहाँ श्रम मन्त्रीस्तरीय छलफल भयो र त्यसपछि हामीले युएईसँग गरेको लेबर एग्रिमेन्ट अनुसार नेपालको तर्फबाट मेरो अध्यक्षतामा युएइको तर्फबाट श्रम सचिवले नेतृत्व गरेको बैठक बस्यो । सो छलफलमा लेबर एग्रिमेन्ट पछि कामदारले भोगेका समस्याहरू, भिजिट भिसामा देखिएका समस्या, अहिले भइरहेको रोजगारीलाई थप कसरी व्यवस्थापन गर्न सकिन्छ रु नयाँ क्षेत्रहरू के के हुनसक्छ रु ती क्षेत्रहरूको पहिचान गर्ने र कामदारहरूको सामाजिक सुरक्षा तथा चौबिसै घण्टा इन्स्यूरेन्समा आबद्धता गर्ने विषयमा छलफल भएको छ ।

पछिल्लो समय भिजिट भिसाबाट गएका कामदारहरू बिचल्लीमा परेको विषय निकै उठेको छ, के छ उनीहरूको अवस्था ?
यसमा हामीले दुई वटा काम गरेका छौँ । पहिलो, भिजिट भिसामा पुगेका नेपालीहरूले दुःख पाई रहेको विषयमा त्यहाँको सरकारसँग छलफल गरेका छौँ । र, दोस्रो कुन कुन ठाउँमा नेपालीहरूले के कस्तो दुःख पाइरहेका छन् र कसले ठग्यो लगायत सम्पूर्ण विवरण पनि सङ्कलन गरेर कारबाहीको प्रक्रिया पनि अगाडी बढाएका छौँ ।

वैदेशिक रोजगारीमा धेरै समस्याहरू छ भनिन्छ र कतिपय तपाईहामीले पनि देखि, भोगिरहेका छौँ, त्यहाँको वास्तविकता कस्तो भेट्नुभयो ?
जुन-जुन देशहरूमा हामी पुग्यो ती सबै ठाउँका नेपाली समुदायसँग बसेर छलफल गरेका छौँ । नेपालबाट आउँदा र आईसकेपछिको अवस्थाबारे पनि बिस्तृतरुपमा छलफल गर्‍यौँ । सो क्रममा सेसेल्समा रहेका नेपालीहरूको सरदरमा मासिक एक लाख रुपैयाँ तलब पाउने गरेको देखियो । र, त्यसैले त्यहाँ पुगेका कामदारहरूमा त्यस्तो समस्या देखिएन, थप नयाँ क्षेत्रहरूमा पठाउँदा सेवा सुविधा अझ बढ्ने भएकोले उनीहरू खुसी नै देखिए ।

कतारमा पनि त्यति धेरै गुनासो पाएनौँ। तर दुबैमा चाहिँ भिटिट भिसामा पुगेर अलपत्र परेको देखियो । जसमा जाने मान्छेले पनि केही लापरबाही गरेका देखियो । पढेलेखेकोले पनि लाखौँ रकम तिरेर गएको र काम नै निक्र्यौल नभइसकेपछि त्यहाँ काम नपाउँदा अलपत्र परेको देखियो । यो समस्या समाधानका लागि हामीले केही मोडिलाटी पनि बनाउने कुरा भएको छ । जसमा यसरी अलपत्र परेकालाई त्यहीँ रोजगार दिने कुरा पनि भएको छ भने, जसले अन्यत्र पु¥याउने भनी लगेर दुबैमा अलपत्र पारेको छ, त्यस्तो म्यानपावरहरूले यदि सम्बन्धित स्थानमा लगेन भने कारबाहीको प्रक्रिया थालिने छ । र, नेपाल फर्किन चाहनेलाई सम्बन्धित म्यानपावरले नै सुरक्षित रूपमा फर्काउनु पर्छ ।

दुवै, कतारमा अहिले पनि ठुलो सङ्ख्यामा नेपालीहरूले दुःख पाइरहेका छन् भन्ने कुरा छ, तपाईँहरूले के देख्नुभयो ?
यहाँ भनेजस्तो हजारौँ कामदारले दुःख पाई रहेको भन्ने देखिएन । खास गरी भिजिट भिसामा गएर आफ्नै हिसाबले काम गरिरहेका र रोजगारीको सुनिश्चितता नै नभई पुगेकाहरूमा अलि समस्या रहेको देखियो । र, जसले दुःख पाएका छन् उनीहरूलाई कसरी नेपाल फर्काउने या त्यही रोजगारीमा लगाउन सकिन्छ भन्ने विषयमा पनि सोचिरहेका छौँ ।

भ्रमणकै क्रममा नयाँ गन्तव्यहरूको पनि पहिचान भएको कुरा पनि आएको थियो, खासमा कुन क्षेत्रमा के कस्तो कामका लागि कुरा भयो ?
त्यस विषयमा हामीले दुई वटा काम गरेका छौँ । पहिलो त अहिले श्रम सम्झौता भएकै देशमा नयाँ क्षेत्रहरू र दक्ष जनशक्तिहरूलाई कसरी पठाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ भने सेसेल्ससँग नयाँ श्रम सम्झौता गर्ने कुरा भएको छ । कुन कुन क्षेत्रमा कसरी पठाउन सकिन्छ भनेर त्यहाँको सरकारसँग छलफल भई एउटा टुङ्गोमा पुगेको र दुई देशबिच श्रम सम्झौता ड्राफ्ट गरेर सेसेल्स सरकारलाई पठाउने कुरा भएको छ । अनि दुई पक्षबिच सहमति पछि आधिकारिक रूपमा सम्झौताका लागि प्रक्रिया अघि बढ्छ ।

सेसेल्स सरकारसँगको छलफलका क्रममा के-कसरी कस्ता क्षेत्रहरूमा कसरी कामदार पठाउने कुरा भयो ?
पहिलो कुरा त कामदारहरूको पारिश्रमिक, सेवा सुविधा, दुर्घटना बिमालगायत विषयमा केन्द्रित रह्यौँ त्यसपछि कुन क्षेत्रमा कस्ता खाले कामदार आवश्यक हुन्छ भन्ने कुरा पनि भयो । त्यहाँका अधिकारीसँगको कुराकानीका क्रममा खास गरी कारागार सुरक्षाका लागि नेपाली पाए हुन्थ्यो भन्ने उनीहरूको चाहना रहेको पायौँ । त्यसै गरी पर्यटन र विकास निर्माणका क्षेत्रहरूमा कसरी सुरक्षित र मर्यादित तवरले काम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

यी तीन मुलुकको भ्रमणका क्रममा रोजगारदाता मुलुकहरूले नेपाली कामदारलाई कसरी हेरिरहेको भेटाउनु भयो ?
हामी तीन वटा मुलुकमा पुग्दा सबै देशहरूमा नेपाली कामदारहरूको उच्च प्रशंसा नै गरेको भेट्यौँ । जुन हाम्रा लागि गर्वको विषय पनि हो । नेपाली कामदारहरूले इमानदारीपूर्वकता आफ्नो जिम्मेवारी निर्वाह गर्छ र यदि काम गर्ने वातावरण भएको अवस्थामा निश्चित अवधिपछि पनि निरन्तर काम गर्छ भन्ने छाप चाहिँ ती देशहरूमा रहेको देखियो ।

तीनवटै देशका सरकारहरूसँग कुरा गर्दा नेपाली कामदारको सहजताका लागि कुनै कानुनमा परिमार्जन गर्नु पर्ने भए सोका लागि पनि आफूहरू सकारात्मक रहेको पनि ती देशका सरकारी अधिकारीले बताए । विभिन्न देशबाट आउने कामदारहरूमध्ये नेपाली कामदार नै पहिलो रोजाइमा पर्ने गरेकोले थप नयाँ रोजगारीका क्षेत्रहरू खोल्ने र त्यहाँ नेपालीहरूलाई अवसर दिने कुरा पनि त्यहाँका मन्त्रीहरूबाट सुन्यौँ ।

समयानुकूल कानुन नबनाएको तथा परिमार्जन नगरेकै कारण पनि थप समस्या भइरहेको देखिन्छ, नेपालको सन्दर्भमा अव कानुनमा के कस्ता सुधार ल्याउन जरुरी छ ?
यो कुरा चाहिँ निकै खड्केको देखियो । नेपालमा २०६४ मा वैदेशिक रोजगार ऐन आउँदा हामीले म्यानुअल्लि कामहरू गर्‍यौँ र अहिले पनि त्यही छ तर अन्य देशहरू अटोमेसनमा गइसकेकोले त्यसैसँग तादाम्यता मिलाउन नसक्दा ढिलासुस्ती मुख्य समस्या बन्ने गरेको छ । चाहे कामदार पठाउने कुरामा होस् या समस्यामा पर्दा उद्धार गर्ने कुरामा नै किन नहोस् । त्यसैले हाम्रा ऐन, कानुनहरू समयानुकूल परिवर्तन गर्नुपर्ने हुन्छ ।

यसका साथै नेपालले श्रम सम्झौता गरेका मुलुकहरूले त्यसपछि धेरै कानुनहरू निर्माण तथा संशोधन गरिसक्दा पनि हामी सम्झौता गरेकै बखतको कानुनअनुसार चलिरहेका छौँ । श्रम सम्झौता भएका मूलकहरूसँग तादाम्यता मिलाउन पनि हामीले हाम्रा कानुनहरू समयानुकूल बनाउनै पर्ने हुन्छ । जस्तो: कतारसँग हामीले २००५ मा श्रम सम्झौता गरेका थियौँ र त्यसयता कतारले आफ्ना धेरै कानुहरू परिमार्जन गरिसकेको छ भने नेपालमा पनि परिवर्तन भएका छन् तर त्यसलाई अटोमेसनमा लैजाने र त्यहाँको कानुनअनुसार हाम्रो कानुनलाई पनि अपडेट गर्ने कुरामा हामी पछि छौँ । प्रविधिसँग जोडिनका लागि आवश्यक परिमार्जन गर्ने विषयमा कतार सरकारसँग छलफल गर्दा उहाँहरूले सहमति जनाउनु भएको छ । त्यसका लागि खाका तयार हुँदै छ ।

वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र सम्भावनाहरूबारे बहस भई रहँदा यसलाई सुरक्षित र मर्यादित बनाउन चाल्नु पर्ने कदमबारे तपाईँको धारणा के छ ?
वैदेशिक रोजगार सरकारले मात्रै सुधार गरेर सुध्रने विषय होइन रहेछ । यसका स्टेक होल्डरहरू धेरै भएकोले सरकारसँगै व्यवसायी, कामदार, कामदारको परिवारहरूले इमानदारीपूर्वकता आफ्नो जिम्मेवारी बहन गर्न सके मात्रै यसलाई मर्यादित बनाउन सकिन्छ । व्यवसायीहरूले पनि कानुनअनुसार कामदार पठाउनु पर्‍यो भने कामका लागि विदेश जाने व्यक्तिहरूले पनि सिप सिकेर रोजगारीको सुनिश्चितता भएपछि मात्रै विदेश जानु पर्छ । त्यसै गरी परिवारले पनि आधिकारिक निकायमा बुझेर मात्रै पठाउन सक्यो भने धेरै समस्याहरू हटेर जान्छन् । अहिले जस्तो दलाहरूको पछि लागेर जाँदा पछि आफूले त दुःख पाउँछ नै परिवारसमेतले थप समस्या झेल्नुपर्ने अवस्था आउँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस