न्यायाधीशका फैसलासँग सम्बन्धित उजुरीहरूको छानबिन सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्यायाधीशका फैसलासँग सम्बन्धित उजुरीहरूको छानबिन सुरु


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । न्यायपरिषदले न्यायाधीशको फैसला र कामकारबाही जोडिएका २५० भन्दा बढी उजुरीहरूको छानबिन थालेको छ ।

न्यायाधीशहरूको कामकारबाही र क्रियाकलाप निगरानी गर्ने संवैधानिक निकायले विशेषतः फैसलामाथि परेका उजुरीहरूको छानबिन गरिरहेको हो । तीमध्ये केही गम्भीर प्रकृतिको रहेको परिषद् स्रोतले बताएकाे छ।

‘परेका उजुरीहरूको विवरण केलाउने, आवश्यक परे मिसिल मगाएर हेर्ने र गम्भीर उजुरीमाथि विस्तृत रूपमा हेर्ने काम भइरहेको छ,’ कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले भने, ‘तीमध्ये करिब १० प्रतिशत (२०–२५ वटा) उजुरी अलि गम्भीर प्रकृतिका छन् । ती उजुरी विस्तृत अनुसन्धानमा जाने क्रममा छन् ।’

उनका अनुसार, उजुरी परेपछि थप अध्ययन हुन नसकेका, अलपत्र परेका फाइलहरूलाई अघि बढाउने काम भएको छ । उजुरी पर्ने तर लामो समयसम्म कुनै कारबाही नहुने समस्या रहेकाले तिनलाई गति दिन खोजिएको न्यायपरिषदका सदस्य समेत रहेका कानुनमन्त्री बडुले बताए ।

न्यायपरिषदका अर्का सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले सार्वजनिक वृत्तमा प्रश्न उठेका र विवादास्पद देखिएका आदेश र फैसलामाथि समेत अध्ययन भइरहेको जानकारी दिए ।

उनका अनुसार, प्रारम्भिक रूपमा हेरेर केही उजुरीमाथि छानबिन समिति नै बनाएर अघि बढ्ने गरी तयारी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस