आज उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै, दीपेन्द्रलाई एक हजार रन पूरा गर्ने अवसर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै, दीपेन्द्रलाई एक हजार रन पूरा गर्ने अवसर


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ। त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२ : ३० बजे सुरु हुनेछ ।

नेपाल, पीएनजी र मलेसिया सम्मिलित शृङ्खलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चार वटै खेल जितेर उच्च लयमा छ । पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अङ्क जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अङ्क बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।

कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै शृङ्खला गुमाएको थियो । त्यसपछि टी–२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै शृङ्खलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी–२० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।

फाइनलअघि आइतबार शृङ्खलाको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा नेपालका कप्तान सन्दीप लामिछानेले यसअघि खेले जस्तै खेल्ने र दबावविना खेल्ने बताएका छन् । सन्दीपले कप्तानको रूपमा पहिलो पटक शृङ्खलाको फाइनल पुग्दा खुसी व्यक्त गरे ।

यस्तै उनले शनिवार मलेसियालाई अन्तिम लिग खेलमा हराएपछि पीएनजी विरुद्धको फाइनल महत्त्वपूर्ण रहेको भन्दै यसले आगामी खेललाई सहयोग गर्ने बताएका थिए । उनले भने, ‘फाइनल महत्त्वपूर्ण हुनेछ । यसपछि हाम्रो सम्भवतः युएस टुर हुनेछ । त्यसको लागि पनि बुस्ट हुनेछ । फाइनललाई राम्रो तयारी भाछ । पीएनजी बलियो टिम हो, राम्रो खेलिराछ तर लिगमा चुकिराछ । हामीले चार गेम जितेर आइराछौँ । त्यसरी नै जान्छौँ र हामी डोमिनेट गर्ने प्रयास गर्छौँ ।’

उता पीएनजीका कप्तान असद भालाले भने नेपाल विरुद्धको खेल ठुलो रहेको भन्दै दबाब रहेको बताएका थिए ।

जारी शृङ्खलामा नेपालले पहिलो खेलमै पीएनजीलाई १५ रनले हराएर सुखद सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल ३७ रनले विजयी भयो । नेपालले मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले पराजित गरेको थियो ।

पीएनजीले मलेसिया विरुद्धको पहिलो खेल ८ रनले गुमाउँदा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।पीएनजीपीएनजीले मलेसिया विरुद्धको पहिलो खेल ८ रनले गुमाउँदा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।

दीपेन्द्रलाई एक हजार रन पूरा गर्ने अवसर

पीएनजी विरुद्ध फाइनल खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीको लागि नयाँ उपलब्धि बनाउने अवसर हुनेछ । नेपालका लागि सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाइसकेका उनले पीडनजी विरुद्ध फाइनलमा थप २१ रन बनाए टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बन्नेछन् ।

उनले यही शृङ्खलामै पूर्व कप्तान पारस खड्काको नाममा रहेको ७९९ रनको कीर्तिमान तोडेका थिए ।

अघिल्लो साता पीएनजी विरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका दीपेन्द्रले जारी शृङ्खलाको लिगको अन्तिम खेलमा मलेसिया विरुद्ध अविजित ११० रन प्रहार गर्दै नेपालका लागि दुवै फर्म्याटमा शतक प्रहार गर्ने पारस पछि दोस्रो खेलाडी बनेका थिए ।

नेपाल र पीएनजीबीच यसअघि तीन वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले दुई खेल जित्दा पीएनजीले एक खेल जितेको छ । सन् २०१५ मा आयरल्यान्डमा भएको टी–२० विश्वकप छनोटमा पीएनजीले नेपाललाई हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस