बागलुङमा फस्टाउँदै चिया खेती « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

बागलुङमा फस्टाउँदै चिया खेती


२० चैत्र २०७८, आइतबार


बागलुङ । बागलुङको माटोमा चिया खेती हुन थालेको धेरै भएको छैन । पाँच वर्षअघि पहिलो पटक तारा खोला गाउँपालिका-१ अमर भूमिमा ‘गोल्डेन टी स्टेट’ कम्पनीले चिया खेती सुरु गरेको थियो ।

त्यसयता अरू केही ठाउँमा चिया खेती विस्तार भएको छ । अमर भूमिपछि धेरै चिया लगाइएको ठाउँ हो काठे खोला गाउँपालिका-७ रेस । रेसको तिङरिङ र बौरमा गरी ७६ रोपनी जग्गामा अहिले चिया फस्टाइरहेको छ ।

चार वर्षअघि त्यहाँ लगाइएको चियाको मुना टिप्न योग्य भएको छ । चिया खेती प्रवर्द्धन गरिरहेको रेस साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले सुरुको वर्ष लगाइएको चिया वैशाखमा टिप्ने तयारी भएको बताए ।

‘सानो क्षमताको प्रशोधन यन्त्र ल्याउँदै छौँ, अब चियाको व्यावसायिक उत्पादन र बिक्री सुरु हुन्छ’, उनले भने, ‘चियाको नर्सरी पनि यहीँ तयार गर्दै छौँ, तीन लाख बिरुवा उत्पादन गर्ने लक्ष्य छ।’ तिङरिङमा दुई र बौरमा दुई गरी अहिले चार ‘प्लट’मा चिया खेती छ । बौरको सार्वजनिक जग्गा हो भने तिङरिङको जग्गा विद्यालयको ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले विद्यालयको ३७ रोपनी जग्गामा चिया खेती गरिएको बताए । ‘चार वर्षअघि लगाएको चियाले अब उत्पादन दिने चरणमा छ, विद्यालयको थप ६७ रोपनी जग्गामा चिया खेती विस्तार गर्ने योजना छ’, उनले भने । चियामा मलको जोहोदेखि, गोडमेल र रेखदेखमा विद्यालयका शिक्षक र विद्यार्थीसम्म खट्छन् ।

विद्यार्थीले चिया बगानमा अभ्यासमूलक सिकाइको मौका पनि पाएका छन् । वडाध्यक्ष प्रेम लामिछानेले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको बजेट चिया खेतीमा लगाइएको बताए । उनका अनुसार हालसम्म रु ५० लाखभन्दा बढी चिया खेतीमा खर्च भएको छ ।

चालू आवमा छुट्टिएको रु नौ लाख ५० हजार प्रशोधन यन्त्र र नर्सरीमा खर्च गरिने भएको छ । आफ्नै नर्सरी नहुँदा यसअघि टाढाबाट चियाका बिरुवा ल्याउनुपर्ने बाध्यता थियो। ‘बाहिरबाट ल्याउँदा ढुवानी महँगो पर्ने, बिरुवा मर्ने डर हुन्थ्यो, अब आफ्नै नर्सरी भएपछि त्यो समस्या हट्छ, अरू व्यावसायिक किसानलाई पनि सहुलियत दरमा बेच्न सकिन्छ”, वडाध्यक्ष लामिछानेले भने ।

उनले चिया खेतीबाट स्थानीय किसानको जीवनस्तर उकासिनुका साथै र रोजगारी सिर्जना हुने बताए । चियाको बगानले रेसको पर्यटकीय आकर्षण पनि थप्ने विश्वास लिइएको छ । रेसका दुवै ठाउँमा गरी अहिले ८० हजार चियाका बोट हुर्किरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ ।

चिया विज्ञ निर्मल घिमिरेलगायतले नर्सरी र बगान व्यवस्थापनबारे स्थानीय किसानलाई सघाउँदै आउनुभएको छ । कृषि ज्ञान केन्द्रले पनि प्राविधिक सहयोग गर्दै आएको छ । ज्ञान केन्द्रका प्रमुख भानु भट्टराईले बागलुङमा चियाको खेतीको सम्भावना देखिए पनि उत्पादन हेरेर मात्र थप भन्न सकिने बताए ।

‘अहिले केही ठाउँमा चिया खेती भइरहेको छ, किसान विस्तार गर्ने सोचमा पनि हुनुहुन्छ’, उनले भने, ‘बोटको हुर्कने, बढ्ने प्रक्रिया र उत्पादन पनि राम्रो भयो भने बल्ल चिया खेती व्यावसायिक रूपमा सफल भएको मान्नुपर्ने हुन्छ ।’

प्रमुख भट्टराईले यहाँको भू बनोट, हावापानी र बगानको अवस्था हेर्दा चिया खेती सफल हुने देखिएको बताए । ‘यो एक हिसाबले चियाको परीक्षण खेती पनि हो, अब उत्पादन लिने बेला भएको छ, हेरौँ फल कस्तो आउँछ’, उनले भने, ‘रेसभन्दा पहिला अमर भूमिमा उत्पादन भएको चिया बाहिर आउँदै छ ।’

अमर भूमिमा ५०० रोपनीमा चिया खेती विस्तार हुन लागेको ज्ञान केन्द्रले जनाएको छ । उपकरणलगायतमा त्यहाँको चिया कम्पनीले सरकारी अनुदान पनि प्राप्त गरेको प्रमुख भट्टराईले बताए ।

उनले चिया जति धेरै उत्पादन भए पनि बजारको भने अभाव नरहेको उल्लेख गरे । एक हजार ८०० देखि २२ सय मिटर उचाइमा चिया हुन्छ । चियालाई १२ देखि २९ डिग्रीसम्म तापक्रम भएको ओसिलो र भिरालो जग्गा चाहिन्छ ।

बागलुङ नगरपालिका-८ सिगाना, १० भकुन्डे, काठे खोला गाउँपालिका–३ धम्जालगायतका ठाउँमा पनि चिया खेती सुरु गरिएको छ । सिगानामा चिया लगाउनु पूर्व नगरपालिकाले नै सम्भाव्यता अध्ययन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस