सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर


२० चैत्र २०७८, आइतबार


रत्न नगर । चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिक रूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ ।

सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिक रूपमा दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेणु दाहालले बताइन् ।

महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई पाँच महिनाको सहायता रकम बराबर १० हजार एकमुस्ट प्रदान गरेको छ । नेपालमा नै पहिलो पटक महानगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता सुरुआत गरेको प्रमुख दाहालले बताइन् ।

आगामी दिनमा यस कार्यक्रमलाई निरन्तर दिइने र यो रकमलाई बढाउँदै लैजाने लक्ष्य रहेको उनले बताइन् । महानगर प्रमुख दाहालले पीडित परिवारलाई केही मात्रमा भए पनि मलहम लगाउन सकिन्छ भन्ने उद्देश्यले नेपालकै स्थानीय तहमा पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको बताइन् ।

देशमा परिवर्तन ल्याउन हरेक आन्दोलनमा परिवार गुमाएका परिवारलाई सम्मान स्वरूप यो कार्यको थालनी गरिएको उनको भनाइ छ । बेपत्ता, घाइते तथा सहिद परिवारलाई आर्थिक सहायता दिने गरी महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।

भरतपुर महानगरपालिकाले आज ६० जनालाई नगदसहित सम्मान पनि गरेको छ । महानगरले गत मङ्सिरमा सूचना निकालेर स्थायी बासिन्दाका लागि आवश्यक कागजातसहित निवेदन माग गरेको थियो । जिल्लामा ६०० बढी घाइते, सहिद तथा बेपत्ता परिवार रहेको तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस