यथाशीघ्र विवाद समाधान गर्न पाटालाई प्रशासनको पत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यथाशीघ्र विवाद समाधान गर्न पाटालाई प्रशासनको पत्र


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विवाद यथाशीघ्र समाधान गर्न प्रशान्त क्षेत्र एसिया यात्रा सङ्घ(पाटा नेपाल च्याप्टरलाई) पत्र काटेको छ । चुनावी प्रक्रिया विधान विपरीत भएको भन्दै पाटा नेपालका पूर्व अध्यक्ष सुमन पाण्डेको निवेदनपछि आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको प्रशासनले संस्था र उजुरीकर्ता दुवै पक्ष छलफल गरी विधानसम्मत विवादहरूको समाधान यथाशीघ्र गर्न भनेको हो ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै पाण्डेले २०७६ पुस २ मा सम्पन्न साधारण सभामा भएको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार अनुज पाण्डेमाथि तत्कालीन पदाधिकारीहरू र निर्वाचन अधिकृतसमेतको मिलेमतोमा कपटपूर्ण जालझेल र उम्मेदवारी खारेजी गरिदिएको आरोप लगाउँदै यसका विरुद्ध आफू अदालत जाने तयारीमा रहेको बताएका थिए ।

सम्बन्धित समाचार : पाटा नेपाल च्याप्टरको चुनावी प्रक्रिया विधान विपरीत भएको पूर्व अध्यक्ष पाण्डेको आरोप

निर्वाचन परिणाम तथा साधारण सभाको वैधानिकता खारेजीका लागि २०७६ पुस २८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन परेको थियो ।

एक्प्रोलर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्षसमेत रहेका पाण्डेले १९७५ मा स्थापना पश्चात् नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रियकरण गर्दै विभिन्न विधामा अग्रणी भूमिका खेल्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन अन्तर्गतको पाटा नेपाल च्याप्टरमा संलग्न केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ तथा अपारदर्शी क्रियाकलापहरूका कारण अधोगति तर्फ गइरहेको भन्दै संस्थाको साख जोगाउन पनि आफू अगाडि आउन बाध्य भएको बताउँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालयको पत्रपछि पाण्डेले विवाद समाधान गर्ने कि थप कानुनी लडाइँमा जाने भन्ने कुरा सङ्घकै पोल्टामा आएको बताएका छन् । ‘अहिलेसम्मको साख जोगाउँदै संस्थालाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने कुरामा छलफल गर्न हामी तयार छौँ’, पाण्डेले भने, ‘यदि पेलेरै एकलौटी ढङ्गले अघि बढ्ने हो भने यसपछिको यात्रा अदालत नै हो’

Tags :
प्रतिक्रिया दिनुहोस