नेपाल र भारतका प्रधानमन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर


१९ चैत्र २०७८, शनिबार


जनकपुर । लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि दुल्ही झैँ शृङ्गारिएको रेल जयनगरबाट खुलेको थियो । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेसनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए ।

रेल जनकपुरधामस्थित रेल्वे स्टेसन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराए । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेसनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएको छ ।

आइतवरदेखि नियमित रेल सञ्चालन हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै भोलिदेखि नियमित रेल सेवा सञ्चालन हुनेछ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । सो रेल बिहान १० बजे कुर्था स्टेसन पुग्नेछ । पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।

रेलमा चढ्ने यात्रुले पहिचान खुल्ने कागजात बोक्नुपर्ने

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए । सुरक्षा र खुल्ला सिमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।

यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले भने । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहचानपत्र लिनुपर्ने जनाइएको छ ।

रेल सेवाको भाडा दर

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडा दर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ ।

रेलको क्षमता

गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो । दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ । यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघन्टा रहे पनि जयनगर–कुर्था रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेशिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ ।

रेल सञ्चालनसँगै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा

जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच हुनुको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

रेल सेवा सञ्चालनसँगै नेपाली भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्ता लगायतका सहरसम्म सहज यात्रा गर्न सकिने छन् भने दैनिक भारतीय पर्यटक नेपाल आउने अध्यक्ष महासेठको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस