पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि गेमचेन्जर साबित हुनेछ : मोदी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि गेमचेन्जर साबित हुनेछ : मोदी


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताएका छन् । उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्त्वमा जोड दिएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबिच ऊर्जा साझेदारीमा महत्त्वपूर्ण हुने मोदीको भनाइ छ । ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लु प्रिन्ट साबित हुनेछ । हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौँ । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबिच सहमति भएको मोदीले उल्लेख गरेका छन् । नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा मोदीले प्रसन्नता व्यक्त गरेका छन् । उनले त्यसले नेपालको आर्थिक प्रगतिमा राम्रो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो तीन दशकदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत राखेको छ । तर पछिल्ला वर्षहरूमा परियोजनामा ठोस प्रगति भएको देखिँदैन । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० टुङ्ग्याउने विषयलाई पञ्चेश्वरमा अहिले देखिएको सबैभन्दा जटिल समस्या ठानिएको छ । नेपालको जल तथा ऊर्जा आयोगका सचिव र भारतको ऊर्जा आयोगका सचिव रहने विज्ञ समूह (टिम अफ एक्सपर्ट) ले पञ्चेश्वरको डीपीआर टुङ्ग्याउने जिम्मा पाएको छ ।

तर सन् २०१९ फेब्रुअरीयता विज्ञ समूहको बैठक बस्न सकेको छैन । डीपीआर टुङ्ग्याउन अघिल्लो पटक दिइएको समय सीमा गुजारेपछि विज्ञ समूहलाई थप एक वर्ष समय दिइएको थियो । २०१९ नोभेम्बर २९ मा भारतमा बसेको प्राधिकरणको सञ्चालक समिति स्तरीय ‘जोइन्ट गभर्निङ बडी’ ले समयावधि लम्ब्याएर २०२० नोभेम्बरसम्म बनाए पनि यसबिचमा एउटा पनि बैठक बसेन ।

Tags :
प्रतिक्रिया दिनुहोस