असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती ढलमुक्त गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती ढलमुक्त गरिने


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । वाग्मती सभ्यता एकीकृत विकास समितिले आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गर्ने प्रतिबद्धता जनाएको छ ।

समितिले भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमको महत्त्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहान स्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढल मुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पाँच जनाले नभ्याए जनशक्ति थप्न सकिने उल्लेख गर्नुहुँदै पशुपति क्षेत्रसम्मको नदीलाई ढल मुक्त गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने बताए । वाग्मतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर वाग्मती कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको जानकारी पनि उनले दिए ।

शिरदेखि वाग्मती सफाइ गर्ने अभियानमा सफाइ महाअभियानको ठुलो योगदान हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सहयोग जुटाएर यो काम सफल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा. माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा. सुधा श्रेष्ठ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस