राष्ट्रपतिको राजीनामा माग्दै भएको चर्को विरोध प्रदर्शनपछि श्रीलङ्कामा आपतकाल घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिको राजीनामा माग्दै भएको चर्को विरोध प्रदर्शनपछि श्रीलङ्कामा आपतकाल घोषणा


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । श्रीलङ्कामा आपतकाल घोषणा गरिएको छ। आर्थिक सङ्कटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै भएका विरोध प्रदर्शनपछि श्रीलङ्का तनावग्रस्त भएको हो।

श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको भोलिपल्टबाट आपतकाल घोषणा गरिएको हो।

राष्ट्रपति राजापाक्षेले सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको बताएका छन्।

सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत् कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।

२ करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठुलो मन्दी सामना गरेको छ।

मूल्य वृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस