श्रीलङ्कामा राष्ट्रपति राजापाक्षेको घरअगाडि हजारौँको प्रदर्शन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीलङ्कामा राष्ट्रपति राजापाक्षेको घरअगाडि हजारौँको प्रदर्शन


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटवाया राजापाक्षेको घरअगाडि प्रदर्शन गरेका छन्।

बिहीबार राति हजारौँ मानिसहरू राजापाक्षेको घरअगाडि प्रदर्शनमा आएका थिए।

प्रहरीले उनीहरूलाई हटाउन खोज्दा झडप भएर केही प्रहरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा हानेको थियो। प्रदर्शनकारीले प्रहरीका र बस, जिप र मोटरसाइकल आगो लगाइदिएका थिए।

समाचार संस्था रोयटर्सले स्थितिलाई सामान्य बनाउन कोलम्बोका विभिन्न क्षेत्रमा कर्फ्यु घोषणा गरिएको जनाएको छ। श्रीलङ्कामा अहिले दैनिक १३ घण्टासम्म लोडसेडिङ हुन्छ भने पेट्रोलियम पदार्थको हाहाकार छ।

श्रीलङ्काली मुद्राको अवमूल्यन भएकाले मूल्यवृद्धि भएको छ। बिजुली जोगाउन सडक बत्तीहरू पनि बाल्न छोडिएको छ भने बिजुली अभावमा सेयर बजार कारोबार पनि प्रभावित भएको छ।

प्रदर्शनकारीहरूले राजापाक्षे परिवारको हालीमुहाली भएको सरकारले अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै राष्ट्रपति गोटवायाको राजीनामा मागिरहेका छन्।

सरकारले भने अतिवादीहरूले राष्ट्रपतिको घरअगाडि प्रदर्शन गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस