राजदूत आचार्यले बुझाए बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजदूत आचार्यले बुझाए बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र


१७ चैत्र २०७८, बिहिबार


लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कोभिड-१९को जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी थिइन् । सो क्रममा राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै महारानीले उनको पालामा बेलायत–नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।

राजदूत आचार्यसँगको १० मिनेट लामो संवादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन्।

उक्त अवसरमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई शुभकामना सुनाएका थिए।

बेलायतको लागि नेपालको २२औँ राजदूतका रूपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए।

समारोहलाई सम्बोधन गर्दै राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ, बलियो र बहु आयामिक बनाउने प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले नेपालको सामाजिक(आर्थिक विकासका लागि पुर्‍याउँदै आएको सहयोग तथा हालै कोभिड महामारीका बेला प्रदान गरेको सहायताका लागि बेलायतप्रति आभार प्रकट गरे।

Tags :
प्रतिक्रिया दिनुहोस