काँग्रेसको निर्णय केन्द्रबाट गठबन्धन नथोपर्ने भन्ने हो : महामन्त्री शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेसको निर्णय केन्द्रबाट गठबन्धन नथोपर्ने भन्ने हो : महामन्त्री शर्मा


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले केन्द्रबाट गठबन्धन नथोपर्ने भन्ने संस्थागत निर्णय गरेको स्पष्ट पारेका छन्।

मङ्गलवार सकिएको केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा सर्वत्र चासो र प्रश्नहरू उठेपछि महामन्त्री शर्माले केन्द्रले सर्वसम्मतरुपमा केन्द्रबाट गठबन्धन नथोपर्ने, तर स्थानीय स्थिति र आवश्यकता हेरेर तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको बताएका हुन् ।

उनले भने,‘केन्द्रबाट गठबन्धन नथोपर्ने केन्द्रीय समितिको संस्थागत निर्णय हो । त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र तालमेल गर्न सक्ने उल्लेख छ । गर्न सक्ने भन्नुको अर्थ स्थानीय स्थिति अनुकूल गर्ने,भावना प्रतिकुल नगर्ने भन्ने पनि हो । हामी बिलकुल प्रस्ट छौँ ।’

महामन्त्री शर्माले बिहीबार सामाजिक सन्जालमार्फत् पार्टीको केन्द्रीय समिति सर्वसम्मतरुपमा पार्टीले गरेको संस्थागत निर्णय दायाँबायाँ, तलमाथि केही नगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै त्यसमा शङ्का नगर्न समेत आग्रह गरेका छन् ।

उनले भने, ‘काँग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ–तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौँ । तर बटमलाइन प्रस्ट छ–स्थानीय स्थिति र आवश्यकता । मोडालिटी भनिरहँदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा व्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रस्ट र दृढ छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस