रेलमार्गको ठेक्का सेटिङमा मुछिएका मिश्र यातायात मन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेलमार्गको ठेक्का सेटिङमा मुछिएका मिश्र यातायात मन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । पूर्व सहसचिव बलराम मिश्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवकाे विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । उनलाई मन्त्री यादवले नियुक्त गरेकी हुन् ।

रेल विभागका पूर्वमहानिर्देशक रहँदा अनियमितताको आरोपमा मुछिएका मिश्र २० असोज २०७७ मा निजामती सेवाबाट निवृत्त भएका थिए ।

रेल विभागमा महानिर्देशक रहँदा उनले केपी शर्मा ओली नेतृत्वको सरकार र निर्माण व्यवसायीसँग मिलेर फर्जी प्रतिस्पर्धाबाट ३२ अर्ब रुपैयाँको ठेक्का लगाउन खोजेका थिए ।

कुन कम्पनीलाई कुन ठेक्का दिने भन्ने तय गरेपछि १४ र १७ असार २०७७ मा मिश्रले टेन्डर गराएका थिए । यो टेन्डरको ‘सेटिङ’मा नेपाल निर्माण व्यवसायी महासङ्घ आफैँ संलग्न थियो । अध्यक्ष रबी सिंहले त्यति बेलै रेलमार्गको ठेक्कामा सेटिङ भएको स्वीकारेका थिए ।

२ महिनासम्म चलेको विवाद र बहससहित चौतर्फी आलोचनापछि मिश्रले २३ भदौ २०७७ मा ठेक्का रद्द गरेका थिए । त्यति बेला करिब ७ देखि १० अर्ब रुपैयाँ सोझै भ्रष्टाचार गर्न रचिएको खेल पनि असफल भएपछि मिश्र फेरि मन्त्रालयमा अन्य भूमिका फर्किने कसरतमा रहेको स्रोतले बतायो ।

मन्त्री यादवमार्फत उनी फेरि मन्त्रालयमा सहसचिव सरहकै सेवा सुविधा लिने गरी सल्लाहकारका रुपमा फर्किएपछि रेल विभागभित्र पनि त्रास पैदा भएको छ ।

निर्माण व्यवसायीको डिजाइनमै फेरि रेलकै टेन्डरहरू मिलेमतोमै गराउने योजनासहित मन्त्रीको मिश्रलाई विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरिएको दाबी मन्त्रालयकै अधिकारीहरूको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस