राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित


१७ चैत्र २०७८, बिहिबार


झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित भएका छन् ।

झापाको बिर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् ।

उनीहरूले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतङ्कित पार्ने काम भएकाले आन्दोलित हुनु परेको बताए ।

विभागले बिहीबार (आज) दिउँसो बिर्तामोडस्थित शाह कपडा पसलमा छापा मारेको थियो । पसलमा एक जना बालक मात्र भएको अवस्थामा विभागले छापा मारेको व्यवसायीहरूले आरोप लगाएका छन् ।

राजश्व अनुसन्धान स्रोतका अनुशार प्रहरीले गाडी राजश्व अनुसन्धानमा बुझाएपछि अनुसन्धानका क्रममा व्यापारी कहाँ जाँदा कागजपत्र पनि नदेखाउने र मुख्य मान्छे नै भागेपछि अन्य व्यापारीहरुले यो गर्न पाईँदैन भन्दै आन्दोलन भएको थियो ।

बुधवार नै राजश्व अनुसन्धानको टोलीले कागजात मागेकोमा अटेरी गरेपछि आज स्थानीय प्रशासनको समन्वयमा थप कागजात माग्न जाँदा उल्टै व्यापारीहरू जम्मा भएर आन्दोलन गरेको एक अधिकारीले बताएका छन् ।

पछिल्लो समय कपडालगायतका बस्तुहरूको तस्करी व्यापक बढेको छ । भारतसँग सीमा जोडिएका जिल्लाहरूमा राजश्व छली गर्दै सामानहरू नेपाल भित्र्याउने र काठमाडौँसम्मै पुर्‍याएर मिसाउँदै बेच्ने गरिएको देखिन्छ । 

वर्षौँदेखि व्यापारको खोल ओढेर तस्करी गर्दै आएका केही व्यक्तिहरूले स्थानीय प्रशासनलाईसमेत मिलाउँदै राजश्व छल्दै आएका छन् । कतिपय स्थानीय नेतादेखि केन्द्रसम्मै पहुँच बनाएका त्यस्ता व्यापारीहरू समात्नै कठिन हुने समातिहालेको अवस्थामा पनि पहुँचका आधारमा गुपचुप छोड्ने तथा मिलाउने कामसमेत विगतमा हुँदै आएको थियो ।

पछिल्लो समय राजश्व अनुसन्धान विभाग आक्रामकरुपमा उत्रिएसँगै सेटिङ मिलाउने सरकारी अधिकारी र गलत व्यापार गर्नेहरू झस्किएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस