ग्याँस उद्योगहरूले ग्याँस बिक्री वितरण बन्द गरे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ग्याँस उद्योगहरूले ग्याँस बिक्री वितरण बन्द गरे


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ। नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरूले आज (बिहीबार) बाट बिक्रेताहरूलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्याँस उद्योग सङ्घले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजबाट एलपी ग्याँस उद्योगीहरूले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।

कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । उक्त कमिसन पाउनुपर्ने र २०७७ मङ्सिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरूले चैत ५ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गतेबाट सबै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट पीडीओ खरिद रोकेका थिए । यस्तै एलपी ग्याँस उद्योगहरूले चैत १४ गतेदेखि सबै नाकाहरूबाट भन्सार छुटाउने काम रोकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस