दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु


१६ चैत्र २०७८, बुधबार


पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्म गाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यस वर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य आवश्यकता रहेको बताए । उनले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताए ।

अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकुदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्न सक्ने बताए ।

गाउँपालिकाको आयोजनामा दोस्रो पटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

आजदेखि यही चैत २० गतेसम्म सञ्चालन हुने वडा स्तरीय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले एक लाख ५१ हजार १११, द्वितीय हुनेले एक लाख एक हजार १११ र तृतीय हुनेले ५१ हजार १११ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए ।

सो अवसरमा रत्यौली प्रतियोगितासमेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितासमेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले १५ हजार राशिको पुरस्कार पाउने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस