स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल हुन्छ : महामन्त्री शर्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल हुन्छ : महामन्त्री शर्मा


१६ चैत्र २०७८, बुधबार


काभ्रे । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा पार्टीले स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल गर्ने बताएका छन् ।

नेपाली काँग्रेस काभ्रेले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री शर्माले तालमेल बाध्यकारी नभएको भन्दै स्थानीय आवश्यकता‚ स्थिति र भावनाका आधारमा तालमेल गर्ने बताएका हुन् ।

‘केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्न सकिने भनेको होस यो बाध्यकारी छैन,’ उनले भने, ‘स्थानीय आवश्यकता, स्थिति र भावनाका आधारमा सम्बन्धित तहले निर्णय गर्न सक्नुहुन्छ ।’

गठबन्धन हुँदा साझा घोषणापत्र लगायत तयार हुनुपर्ने भन्दै उनले काँग्रेसलाई बहुसंख्यक स्थानमा जिताउने गरी तालमेल गर्न लागिएको दाबी गरे ।

भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्नुपर्ने तर्क आइरहेको भन्दै उनले काँग्रेस केन्द्रीय संसदीय बोर्डले यसबारे निर्णय लिने बताए ।

‘अघिल्लो पटक माओवादी केन्द्रलाई सघाएको कारण यस पटक काँग्रेसलाई सघाउनुपर्छ भन्ने तर्क पनि छ; यसबारे साझा धारणा बनाएर माओवादी समेतलाई विश्वासमा लिएर अघि बढ्छौँ‚’ उनले भने ।

अघिल्लो स्थानीय तहमा पराजित भएका १ सय ५५ स्थानीय तहमा १० प्रतिशत र ८४ स्थानीय तहमा ५ प्रतिशत मत बढाउँदा काँग्रेस विजयी हुन सक्ने तथ्याङ्क रहेको भन्दै उनले एमाले प्रचार गरिएको जस्तो ‘बलियो’ नभएको तर्क गरे ।

काँग्रेस जिल्ला सभापति तीर्थ लामाले जिल्लाका सबै स्थानीय तहमा विजय हुने गरी काँग्रेस सङ्गठन विस्तार लगायत अभियानमा लागेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस