आइपिएल : हैदरावादमाथि राजस्थानको जित, आज बैंगलोर र कोलकाता खेल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइपिएल : हैदरावादमाथि राजस्थानको जित, आज बैंगलोर र कोलकाता खेल्ने


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ। कप्तान सञ्जु सामसनको अर्ध शतक तथा युजभेन्द्र चाहलको तीन विकेट प्रेरित राजस्थान रोयल्सले मङ्गलवार राति इन्डियन प्रिमियम लिग (आइपिएल)मा सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ ।

पुणेको महाराष्ट्र क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । २११ रनको लक्ष्य पछ्याएको हैदरावादले सात विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सामसनले २७ बलमा तीन चौका र पाँच छक्कासहित ५५ रन बनाए । देवदत्त प्याडिक्कलले ४१, जोस बट्लरले ३५, शिमरोन हेटमेयरले ३२, यशस्वी जैशवालले २० र रियान परागले १२ रन बनाए ।

हैदरावादका टी नटराजन र उमरान मलिकले समान दूई विकेट लिए भने रोमारियो शेफर्ड र भुवनेश्वर कुमारले एक एक विकेट लिए ।

२११ रनको लक्ष्य पछ्याएको हैदरवादका लागि एइडेन मार क्रमले सबैभन्दा धेरै अविजित ५७ रन बनाए । वासिङ्टन सुन्दरले ४० र शेफर्डले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

राजस्थानका युथभेन्द्रले चार ओभरमा २२ रन दिएर तीन विकेट लिए । ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले समान दुई विकेट लिए ।

आइपिएलमा राजस्थानसहित दिल्ली क्यापिटल्स, पन्जाब किंग्स, कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले विजयी सुरुआत गरेका छन् ।

आइपिएलमा बुधवार राति रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाताविरुद्ध खेल्नेछ । बैंगलोर पन्जाबसँग पराजित भएको थियो भने कोलकाताले चेन्नई सुपर किंग्सलाई हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस