कैलालीमा सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन, चुनावी तालमेलमा कुरा मिलेन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन, चुनावी तालमेलमा कुरा मिलेन


१६ चैत्र २०७८, बुधबार


धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।

मङ्गलवार धनगढीस्थित नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको बैठक विना निष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका कैलाली संयोजक लाजुराम चौधरीले अगामी निर्वाचनमा वडा स्तरसम्मै गठबन्धन गर्ने विषयमा छलफल भए पनि ठोस निर्णय हुन नसकेको बताए । ‘वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल र निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ,’ चौधरीले भने, ‘सबै पार्टीले आन्तरिक छलफल गरेर मात्र आवश्यक निर्णय लिने सैद्धान्तिक सहमति भएको छ ।’

बैठकमा सहभागी नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि वडा तहसम्म गठबन्धन गर्ने विषयमा कुराकानी भए पनि कुनै पनि निर्णय हुन नसकेको जानकारी दिए । उनका अनुसार गठबन्धनमा आबद्ध सबै राजनीतिक दलले आन्तरिक छलफल र विश्लेषण गरेपछि मात्र आवश्यक निर्णय लिइनेछ । अब गठबन्धनको अर्को बैठक चैत २३ गते फेरि बस्ने सैद्धान्तिक सहमति भएको छ ।

मङ्गलवारको बैठकमा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, राजपाका गयाप्रसाद चौधरी र जनमोर्चाका नेता नन्दराज भट्ट लगायत सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस