तिलोत्तमामा साढे ११ करोडको भ्यु टावर तयार, आज ओलीले उद्घाटन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तिलोत्तमामा साढे ११ करोडको भ्यु टावर तयार, आज ओलीले उद्घाटन गर्ने


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । रुपन्देहीको मध्य भागमा रहेको तिलोत्तमा नगरपालिका– २ स्थित सङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा साढे ११ करोडमा भ्यु टावर तयार भएको छ । भ्यु टावर पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्दैछन् ।

तिलोत्तमा नगरपालिका र सङ्कर नगर वनबिहारको संयुक्त लगानीमा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावर आर्थिक वर्ष २०७३–०७४ मा ठेक्का सम्झौता भएको थियो ।

२०७२ सालको भूकम्पमा ढलेको काठमाडौँको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यु टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ । १० तले भ्यु टावर १ सय ३४ फिट उचाइ छ ।

तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए । भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत सङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

लिफ्ट सुविधासहित बनेको भ्यु टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अपिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी वातावरण अनुकूलित कोठा, लाइब्रेरीलगायतका संरचनाहरू बनाइएको छ ।

भ्यु टावरसँगै २ बिगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेसन निर्माण भइरहेको छ । त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको छ ।

गत चैतमा के एच प्रशान्त जेभीसंग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए । बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ ।

भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस