सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नु पर्छ : रमेश लेखक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नु पर्छ : रमेश लेखक


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न चुनावमा काँग्रेसलाई गठबन्धन आवश्यक छ/छैन भन्ने भन्दा पनि सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नुपर्ने बताएका छन् । उनले चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने पार्टीको निर्णयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने धारणा राखे ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै नेता लेखकले पार्टीका कार्यकर्ता र सत्ता गठबन्धन दल दुवैको भावनालाई बुझेर त्यसअनुसार पार्टीले निर्णय लिनु उपयुक्त हुने बताएका हुन् । उनले भने, ‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।’

उनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता तथा कार्यकर्ताको मनोविज्ञानलाई ख्याल गर्नुपर्नेमा समेत जोड दिएका थिए । उनले भने, ‘केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन्छ, हामीले त्यसलाई पनि ध्यान दिनुपर्छ । फेरि पार्टीको निर्णयले सरकार पनि प्रभावित हुनुहुँदैन, त्यसले आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस