रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु गर्न माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु गर्न माग


१४ चैत्र २०७८, सोमबार


रोल्पा । रोल्पामा स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ । छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो ।

स्नातकोत्तर तह सञ्चालनका लागि विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट एक करोड बढी आर्थिक सङ्कलन भएको थियो ।

महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।

नागरिकको लगातारको दबाबपछि उक्त क्याम्पस स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने विषयमा छलफल गर्न तयार भएको हो ।

क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख विष्णु आचार्यका अनुसार आर्थिक रूपले टाँट पल्टिने अवस्था भएपछि क्याम्पस सञ्चालन समितिको निर्णयबमोजिम महोत्सवबाट उठेको रकमले क्याम्पस सञ्चालन गरिएको थियो । क्याम्पसका प्राध्यापक तथा कर्मचारीको तलब महोत्सवबाट उठेको दानबाट व्यवस्थापन गरियो आचार्यले बताए ।

‘हाल अक्षयकोषका रूपमा २२ लाख बचत छ, भूमिदान गरेकाले हक हस्तान्तरण गरेका छैनन् भने कतिपय नगद घोषणा गरेकाबाट पनि रकम प्राप्त हुन बाँकी छ’, आचार्यले भने ।

जुन उद्देश्यले धार्मिक महोत्सव गरियो त्यही उद्देश्यमा बजेट खर्च गर्नुपर्नेमा अन्यत्र खर्च गरिनु दुखद भएको स्थानीयवासीको गुनासो छ । ‘महोत्सवको मूल उद्देश्य स्नातकोत्तर तह सञ्चालन थियो तर अहिलेसम्म पनि सञ्चालन नहुनु सन्तोषजनक पक्ष होइन’, स्थानीय समाजसेवी कृष्णबहादुर घर्ती मगरले भने ।

लामो समयपछि पुनः स्नातकोत्तर तह सञ्चालनबारे क्याम्पसले चासो देखाएकाले यो सकारात्मक पक्ष भएको पत्रकार महेश न्यौपानेले बताए । स्नातकोत्तर तह अध्ययनका लागि विद्यार्थीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

चार सय पाँच सामुदायिक विद्यालय रहेको रोल्पामा स्नातक तहका दुई क्याम्पस मात्र छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस